३ मंसिर,काठमाण्डौ ।
प्यालेस्टाइनी विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग आग्रह गरेका छन् । मन्त्री साउदलाई शनिबार महेन्द्रनगरमा भेटेर विपीनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले तत्काल छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
भीमदत्त नगरपालिका–३ घर भएका विपीनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए । भेटमा मन्त्री साउदले विपीनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए ।
“कूटनीतिक माध्यमबाट विपीनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उनले भने । यस्तै आजै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा पनि मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।
साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ पुगेका थिए । असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपीनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन । उनी ४३ दिनदेखि हमासको नियन्त्रणमा छन् ।