११ मंसिर,एजेन्सी ।
बंगलादेशको राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका शकिब अल हसन राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको छ । ढाका ट्रिब्यूनका अनुसार, अवामी लिगका महासचिव ओबैदुल कादेरले आइतबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन् ।
यसअघि गत निर्वाचनमा पूर्व कप्तान मशरफे मुर्तजा नरैलबाट उम्मेदवार बनेर जितेका थिए । अहिले उनी सांसद छन् । मशरफी सधैँ आफ्नो गृह राज्यमा सामुदायिक कार्यमा संलग्न रहने गरेका थिए तर शकिब कहिल्यै पनि त्यस्तो सामाजिक कार्यमा सहभागी भएको देखिएको छैन ।
बंगलादेशमा क्रिकेट राजनीतिसँगको सम्बन्ध गहिरो र पुरानो छ । साकिब र मशरफी बाहेक, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन पनि चुनाव लडेर २००९ मा पहिलो पटक सांसद भएका थिए । नजमुल हसन अहिले पनि सांसद नै छन् । आउँदो वर्षको जनवरीमा बंगलादेशमा आम निर्वाचन हुँदै छ ।
बंगलादेश अवामी लिगकी अध्यक्षसमेत रहेकी शेख हसिना १५ वर्षदेखि बंगलादेशको सरकारको नेतृत्व गरिरहेकी छिन् । उनलाई प्रतिपक्षी दलमाथि धरपकड गरेको तानाशाही सरकार चलाएको समेत आरोप लाग्दै आएको छ ।
हसिनाको मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेकी र दुई पटक प्रधानमन्त्री बेगम खालिदा जियालाई नजरबन्दमा राखिएको छ । बीएनपीले २०१४ को चुनाव बहिष्कार गरे पनि २०१८ मा भने सहभागी भएको थियो । इस्लामिक आन्दोलन बंग्लादेश(आईएबी) ले पनि चुनाव बहिष्कार गर्न सक्ने चेतावनी दिँदै आएको छ ।