१५ मंसिर,काठमाण्डौ ।
मध्यपहाडी क्षेत्र केन्द्रित पार्टीको मध्यपहाडी लोकमार्ग संकल्प यात्राका क्रममा बैतडी हुँदै डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई डडेलधुराबाट फोन गरेका छन्। देउवाको गृहजिल्ला डडेलधुरा पुगेका ओलीले देउवालाई सम्झिएका हुन्।
ओलीले देउवासँग फोनमा कुराकानी गरिरहेको भिडियो उनको सचिवालयले सार्वजनिक गरेको छ। ओलीको सामाजिक सञ्जालको ह्यान्डिलबाट भिडियोमा ओली बोलेको सुनिन्छ– ‘जय नेपाल! डडेलधुराबाट, गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुराभन्दा अलि पर्तिर, याँ डडेलधुरा। डडेलधुरा बजारभन्दा अलि तल्तिर बस्या छौँ। राम्रो छ यतातिर। अनि तपाईं जिल्लामा आएको बेला यसो सम्झिएको नि।
अनि त्यता सबै राम्रो छ नि?’ सामाजिक सञ्जालमा भिडियो साझा गर्दै ओलीले लेखेका छन्, ‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेलधुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी !’ नेकपा एमालेले महाकाली— मेची अभियान जारी राखेको छ ।
बिहीवार ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गरेका थिए । झुलाघाट—चिवाभञ्ज्याङ यात्रा पुस २ गते सम्पन्न हुनेछ । यस क्रममा नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको अध्ययन र त्यसआसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ ।
उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताएका छन् । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।