२८ मंसिर,काठमाण्डौ ।
अर्थतन्त्रका बाह्य सूचकमा सुधारले निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार रेमिटेन्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति लगायतका सूचकमा निरन्तर सुधार देखिएको हो ।
कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो वर्षको चार महिनामा रेमिटेन्स ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । यो रकम पोहोरको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले बढी हो । वैदेशिक रोजगारीमा जानेको संख्या भने यसपालि घटेको छ ।
पोहोर ४ महिनामा २ लाख ८४ हजार युवा वैदेशिक रोजगारीमा गएकामा यो वर्ष कात्तिकसम्म वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ६ हजार छ । यस्तै, शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। शोधनान्तर बचत कात्तिकमा मात्र ४८ अर्ब रुपैयाँ थपिएको हो ।
पोहोर चार महिनामा शोधनान्तर स्थिति २० अर्ब ३ करोड मात्र बचतमा थियो । समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । पोहोर साउनदेखि कात्तिकसम्म चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा थियो ।
विदेशी विनिमयको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिति असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो। चार महिनामा विदेशी विनिमयको सञ्चिति १०.२ प्रतिशतले बढेको हो ।