१ पुस ,एजेन्सी ।
लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको आशंका गरिएको छ । बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको बताएको छ ।
समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका छन् । उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो ।
यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ । समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार आईओएमले यो दुर्घटनामा ज्यान गुमाउने अधिकांश नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका नागरिक रहेको बताएको छ ।
उक्त समुद्री बाटो विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्गमध्ये एक बन्न पुगेको छ । गत जुनमा दक्षिणी ग्रीसमा माछा मार्ने डुङ्गामा चढेका आप्रवासीहरू डुब्दा कम्तीमा ७८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा अन्य १०० जनाको उद्धार गरिएको थियो ।
भूमध्यसागर पार गरेर युरोप जानका लागि प्रायः धेरै आप्रवासीहरूलाई उक्त मार्गबाट असुरक्षित रूपमा डुङ्गाहरूमा राखेर लगिएको देखिन्छ । त्यसरी असुरक्षित रूपमा यात्रा गर्नेहरूमध्ये अधिकांशले इटली पुग्ने आशा राखेका हुन्छन् ।
त्यहाँबाट उनीहरू अन्य युरोपेली देश जान चाहन्छन् । कतिपय आप्रवासीहरू द्वन्द्वका कारण देश छाडेका हुन्छन् भने कतिपयले चाहिँ कामका लागि युरोप जाने सपना देखेका हुन्छन् । आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो ।
प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसहरूले सागर पार गर्ने प्रयास गर्छन् । त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ । त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन् ।
मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्यूनिशिया पनि मुख्य प्रस्थानबिन्दु हो । युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ देखि २०२२ बीचमा झन्डै तीन लाख मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको थियो ।