२ पुष, विराटनगर ।
वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको भन्ने विषयले अहिले सामाजिक संजाल निकै तताएको छ । र यस्तो दाबी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको हो । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस २०८० का अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको थियो ।
जिफन्टले आर्थिक वर्ष ०७७÷७८ को तुलनामा ०७८÷७९ मा २७७ प्रतिशत र ०७९÷८० मा ३०० प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाएको छ । आ.व. ०७७÷७८ मा ४२.२४ प्रतिशत र आ.व. ०७८÷७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकामा ०७९÷८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ ।
आ.व. ०७७÷७८ को तुलनामा (एक लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आ.व. ०७९÷८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले सात लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ ।
अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भई कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले जनाए । उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको पनि धारणा राखे ।
‘श्रमिकहरु अझै पनि विदेशिने क्रम बढ्दो छ । त्योभित्र स्किल लेभरहरुको संख्या बढ्दो छ । यो नयाँ ट्रेन हो । असुरक्षित क्षेत्रमा श्रमीकहरु प्रवेश गर्दै गरेको युद्धमा सहभागी भएका जस्ता डरलाग्दा तथ्यांकहरु पनि छन् । असुरक्षित ढंगले श्रमीकहरु विदेशिँदै जाँदा यदी युद्ध भयो भने नेपाली श्रमिकहरु युद्धमा पनि सहभागी हुने हुन् कि भन्ने संकेत देखिन्छ,’ उनले भने, ‘श्रमिकहरुको संख्या विदेशिने क्रम बढेको छ । सीप भएका श्रमिकहरु विदेशिएका छन् । जुन प्रतिशतमा विदेशमा श्रमिकहरुको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढीरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौं ।’
उनले वैदेशिक रोजगारमा गएर श्रमिकहरुले कमाएको नेपालमा आउनुपर्ने रकम नेपालमा किन आएन ? भन्ने प्रश्नसमेत गरे ।यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन् । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा उनले यस्तो दाबी गरेका हुन् ।
‘रोजगार नपाएर विकास नभएर नेपाली युवाहरू विदेश जान लर्को लागेको छ भन्ने कुरा आंशिक सत्य मात्र हो’, उनले भने, ‘विकास नभएर रोजगारी नभएर भनेर मात्र यो रोकिने वाला छैन।’ प्रधानमन्त्री दाहालले रोजगार र विकास नभएर विदेश गएको भाष्य आफूले नस्विकार्ने बताए । ‘यो पुरै विल्कुल सत्य होइन । रोजगार र विकास नभएर हाम्रो पढे लेखेका, युवा विदेश गएका हुन भन्ने म स्विकार्दिन’, उनले भने । प्रधानमन्त्री दाहालले पश्चिम नेपालको भ्रमणको समयको उदाहरण दिँदै भने, ‘घरमै बसेर महिनाको ७० हजार तलब पाइरहेकाहरू पनि बिदेसिएका छन्।’ उनले ‘विदेश पलायन’लाई फेसनका रूपमा व्याख्या गरे । ‘भएको जमिन बाँझो राख्ने, तल्लो स्तर श्रम गर्न बाँकी नराख्ने?’, प्रधानमन्त्री दाहालले भनेका छन् ।
यता तथ्यांकले भने कोभिडपछि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारको संख्या निकै बढेको छ । नेपाल ट्रेड युनियन महासंघको प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तर, रेमिट्यान्स आप्रवाहको दर भने न्यून छ । रेमिट्यान्स आप्रवाह भने समीक्षा अवधिमा २७ प्रतिशत मात्रै बढेको तथ्यांक छ ।
आव ०७९÷८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स आप्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आव ०७७÷७८ मा भने नौ खर्ब ६१ अर्ब, ०७८÷७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । बिदेसिने कामदार बढे पनि रेमिट्यान्स नबढ्नुले त्यस्तो रकम गैरकानुनी प्रयोग भएको हुन सक्ने जिफन्टले जनाएको छ ।
दक्ष जनशक्ति पलायन हुँदा विदेशमा नै परिवार लैजाने र उतै व्यवसाय गर्ने हुँदा पनि रेमिट्यान्सको अनुपात नबढेको जिफन्टको जिफन्टका उपाध्यक्ष जनक चौधरीले बताएका छन् ।यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि युरोप आकर्षक गन्तव्य बन्न थालेको छ । रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोल्यान्ड र बेलायततर्फ नेपाली कामदार मोडिन थालेको महासंघको प्रतिवेदनमा उल्लेख छ ।
विभागको तथ्यांकअनुसार गत आव ०७९÷८० मा १४ हजार दुई सय २५ नेपाली कामदार रोमानिया गए । आव ०७८÷७९ मा सात हजार चार सय ७४ र आव ०७७÷७८ मा दुई हजार ९९ जना रोमानिया पुगेको तथ्यांक छ । त्यस्तै, युरोपियन मुलुकमध्ये नेपाली कामदारको रोजाइमा दोस्रो परेको मुलुक क्रोएसिया हो ।
आव ०७९÷८० मा सात हजार चार सय ४१ जना नेपाली कामदार गएको तथ्यांक छ । आव ०७८÷७९ मा पाँच हजार तीन सय ४४, आव ०७७÷७८ मा भने एक हजार ९४ जना नेपाली कामदार गएको देखिन्छ । आव ०७९÷८० माल्टा जानेको संख्या ६ हजार तीन सय तीन छ ।
आव ०७८÷७९ मा एक हजार नौ सय १५, आव ०७७÷७८ मा भने तीन सय १५ जना गएका थिए । यसका साथै आव ०७९÷८० मा पाँच हजार तीन सय १७ जना साइप्रस, पाँच हजार एक सय १२ जना पोल्यान्ड, दुई हजार दुई सय ६४ जना बेलायत गएको तथ्यांकले देखाउँछ ।
आव ०७८÷७९ मा भने चार हजार एक सय ८१ जना साइप्रस, एक हजार आठ सय ५५ र दुई हजार आठ सय १४ जना बेलायत गए । आव ०७७÷७८ मा भने एक हजार दुई सय ५५ जना साइप्रस, सात सय पाँचजना पोल्यान्ड र तीन सय १७ जना बेलायत पुगेका छन ।
वैदेशिक रोजगरीको सुखद पक्ष अर्थोपार्जन हो । जसले परिवार र देशकै अर्थतन्त्रलाई टेवा दिइरहेको छ, चलायमान बनाएको छ । तर रोजगारीका लागि विदेश गएकाहरुले त्यहाँ पाएको कष्ट, पीडा र झंझट कहाली लाग्दो छ । धन कमाउन गएकाहरु कफिनमा फर्किएर आउने गरेको दृश्टान्त अति नै दुखद पक्ष हो । जिफन्टमा मात्रै आएका उजुरीहरु हेर्ने हो भने पनि पछिल्लो आठ महिनामा दुई सय तीनजना पीडितले यस्ता उजुरी दिएका छन ।यस्ता उजुरीमध्ये रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बढी छन । त्यस्तै, बिरामी भई काम गर्न नसक्दा कम्पनीले उपचार नगरेका कारण उपचारकै लागि उद्धार गर्नुपरेको, सम्झौताअनुसार काम र तलब नपाएको, मृतकको शव नेपाल भिकाउन नसकेको, क्षतिपूर्ति नपाएको, जेलमा परेको श्रमिकको उद्धार नभएको गुनासो आउने गरेको छ ।
साथै, परिवारसँग भेट्टाइदिन र अलपत्र परेको श्रमिकको उद्धार गरिदिन भन्दै उजुरी पर्ने गरेको छ । यसैगरी धन कमाउन गएकाहरु परदेशमै मृत्युवरण गर्नु परेका दुखद खबरहरु पनि बेलाबेला आउने गरेका छन् । यसक्रकमा १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये १२ हजार ३८ जनाले ज्यान गुमाएका छन । महासंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन सय सातजना महिला र ११ हजार सात सय ३१ जना पुरुषले विदेशी भूमिमा ज्यान गुमाएका छन ।
तथ्यांकअनुसार सन् २०२२÷२३ मा मात्रै एक हजार दुई सय ७३ जनाले ज्यान गुमाएका छन । सबैभन्दा बढी २०२१÷२३ मा एक हजार चार सय ७९ जनाले विदेशी भूमिमा ज्यान गुमाए । वैदेशिक रोजगारीका यी सबै पक्षबारे प्रधानमन्त्री जानकार छन् कि छैनन् ? के नेपाली युवा रहरले मात्रै विदेसिएका हुन् ?
तपाइँका प्रतिक्रिया पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला ।