२ पुस,काठमाण्डौ ।
केही समयअघि एक ९ वर्षे बालकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको एक चिठीले सामाजिक संजालमा निकै चर्चा बटुल्यो । सो चिठीमा ति बालकले ‘म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नका लागि विदेश जानैपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु’ लेखेका थिए । यद्यपी सो चिठिमा लेखिएको अक्षर नै ति बालकको नभएको भन्दै विभिन्न खाले टिकाटिप्पणी भएको थियो।
अहिले फेरि एक यस्तै चिठी वा खुलापत्र चर्चामा छ । सो पत्र भने काठमाडौंको एक सामुदायिक विद्यालयकी एक किशोरीले प्रधानमन्त्रीलाई लेखेकी हुन् । आफ्नो जन्मदर्ता नहुँदा भविष्य नै अंधकार बन्न लागेको भन्दै किशोरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भावुक पत्र लेखेकी छिन् ।
खासमा उनी अहिले एसईईको परीक्षाको तयारीमा छिन् । तर जन्मदर्ता नभएकै कारण उनी एसईईबाट बञ्चित हुने भएकी छन् । यसै सन्दर्भमा उनले एसईईको फारम भर्नका लागि जन्मदर्तासमेत नभएको हुँदा त्यसबाट बञ्चित हुने स्थितिमा पुगेपछि प्रधानमन्त्रीलाई पत्र लेखेर समस्या समाधानको पहल गर्न अनुरोध गरेकी हुन् ।
पत्रमा उनले भनेकी छन्, “मेरो जन्मदर्ता प्रमाणपत्र बनेको छैन । जन्मदर्ता गराउन मेरा बाबा आमाले धेरै प्रयास गर्नुभयो तर हुन सकेको छैन । विद्यालयले एसईईको फारम भर्न जन्मदर्ता प्रमाणपत्र चाहिन्छ भनेको छ ।” उनले आफ्नो जन्म प्रमाणपत्र किन नबनेको भनेर पनि स्पष्ट पारेकी छन् ।
उनले लेखेको पत्रमा उल्लेख छ, “मेरा बा मेरी आमाका दोस्रा श्रीमान् हुनुहुन्छ । मेरी आमाका पहिला श्रीमान्को निधन भएपछि दोस्रा श्रीमान् (मेरा बा) बाट मलाई जन्माउनुभएको हो । मलाई जन्म दिने बा को पहिली श्रीमती पनि हुनुहुन्छ । मेरी आमाको नागरिकता प्रमाणपत्रमा उहाँका दिवंगत श्रीमान्को नाम छ । वडा कार्यालयमा मेरा बा आमाको नागरिकता प्रमाणपत्र देखाउँदा बुबाको नाम मिलेन भनियो । मेरा बुबा आमाको बिहे दर्ता भएको छैन । बिहे दर्ता गराउन बुबाकी पहिली श्रीमतीको स्वीकृति खोजियो । बुबाले त्यस्तो स्वीकृति पाउन सक्नु भएन । बाबुआमाको बिहे दर्ता भएन । आमाको नागरिकतामा उहाँका दिवंगत पतिको नाम छ ।”
उनले यही कारण देखाएर वडा कार्यालयले जन्म दर्ता नगराइदिएको र आफ्ना तीन जना भाइ बहिनीको अवस्था पनि त्यस्तै रहेको उल्लेख गरेकी छन् । उनले प्रधानमन्त्रीसँग केही प्रश्न पनि अघि सारेकी छन् । “म र मेरा भाइ बहिनी जन्मनु हाम्रो दोष हो ?,” उनको प्रश्न छ, “हाम्रा बुबा आमाको दोष हो भने त्यसको सजाय हामीलाई किन ?
हामी यो देशको नागरिक बन्नबाट बञ्चित हुनुपर्ने हो ? मैले एसईई दिन नपाउने हो ? हामीलाई जन्म दिने हाम्री आमा झुठ हुन् ?” उनले जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो भन्नेमा प्रधानमन्त्री सहमत हुनेमा विश्वास राख्दै प्रश्न गरेकी छन्, “जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो भन्नेमा सम्माननीय प्रधानमन्त्री सहमत हुनुहुन्छ भन्ने मेरो विश्वास छ ।
मेरो विश्वास सही हो भने प्रकृतिको नियमअनुसार राज्य चल्ने हो कि राज्यले बनाएको नियमअनुसार प्रकृति चल्नुपर्ने हो ? आमाको नामबाट नागरिकता प्रमाणपत्र बन्छ भने जन्म दर्ता किन बन्दैन ?”