३ पुष,एजेन्सी ।
गएराति चीनमा विनाशकारी भूकम्प गएको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन् । चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको र छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ ।
छिङ्हाइमा पनि ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । यसैबीच दोस्रोपटक छिमेकी प्रान्त सिनजियाङमा पनि भूकम्प गएको बीबीसीले जनाएको छ । उक्त ५.५ म्याग्निच्युडको भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । भूकम्पबाट जिसिसान काउन्टी सबैभन्दा बढी प्रभावित देखिएको जनाइएको छ ।
भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । तर त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।
गान्सु चीनको सबैभन्दा गरिब क्षेत्रमध्ये एक हो । गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो । सन् १९२० मा गान्सुमा गएको भूकम्पमा दुई लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो । त्यसलाई २० औँ शताब्दीको विश्वकै घातक भूकम्पमध्ये एक मानिन्छ ।