३ पुष,एजेन्सी ।
सामाजिक संजाल ट्विटर अहिले एक्सको स्वामित्व लिएपछि अनेकौं परिवर्तन गर्दै आएका कम्पनीका मालिक एलन मस्कले सो प्लेटफर्ममा भिडिओ फिचर थप गर्ने भएका छन् । एक्सको स्पेसमा लाइभ कुराकानी गर्न सकिने फिचर थप हुने भएको हो । जसमा सो प्लेटफर्मका कुनै पनि प्रयोगकर्ता जोडिन सक्छन् ।
यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । भिडियो फिचर समावेश भएसँगै अब स्पेसमा प्रयोगकर्ता भिडिओबाटै जोडिन सक्नेछन् । “हामी अहिले स्पेसमा भिडिओ फिचर समावेश गर्ने काम गरिरहेका छौं,” मस्कले भनेका छन्, “यो एउटा सामान्य कुरा हो, जसमा तपाईं भिडिओ अन र अफ गर्न सक्नुहुन्छ ।”
मस्कले २०२३ को अन्तिमतिर यो फिचर सार्वजनिक गर्ने तयारी भइरहेको भने पनि २०२४ को सुरुवातमा उपलब्ध हुने अनुमान छ । स्पेस सेसनमा जो व्यक्ति बोलिरहेको छ, भिडियो फिड त्यही व्यक्तिकोमा स्विच हुन्छ । उदाहरणका लागि जसरी गुगल मिटमा जो प्रयोगकर्ता बोलिरहेको हुन्छ, ठूलो स्क्रिनमा उसैको भिडियो देखिन्छ ।
एक्समा पनि उक्त फिचरले यसरी नै काम गर्ने अपेक्षा गरिएको छ । “मानिसहरूले बोलिरहेका बेला उनीहरूको शरीरको हाउभाउ देख्नका लागि यो फिचर उपयोगी हुन्छ । यदि उनीहरूले चाहने हो भने आवाजभन्दा अनुहार र शरीरको हाउभाउले बढी सूचना दिन्छ,” मस्कले भनेका छन् ।
अडियन्ससँग अन्तरक्रिया गर्न यो फिचरले थप सघाउ पु¥याउने कम्पनीको विश्वास छ । कोभिड–१९ महामारीको समयमा उदाएको अडियो स्ट्रिमिङ प्लेटफर्म क्लबहाउससँग प्रतिस्पर्धा गर्न ट्वीटरले स्पेस फिचर सार्वजनिक गरेको थियो ।