१७ पुष, एजेन्सी ।
दक्षिण कोरियामा विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकार सम्मेलनकै बेला छुरा प्रहार भएको छ । विपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
लीलाई एक अज्ञात व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् । लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए । त्यसपछि अचानक अगाडि बढेर उनीमाथि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई अहिले अस्पताल पुर्याइएको छ ।
उनी होसमा रहेको उनको पार्टी डेमेक्र्याटिक पार्टीका अधिकारीहरूले जनाएका छन् । कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ । ५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येओलसँग पराजित भएका थिए ।
उनी मात्र ०.७३ प्रतिशत मतको अन्तरले पराजित नेता हुन् । दक्षिण कोरियाको इतिहासमै यो असाध्यै झिनो फरकले राष्ट्रपति पराजित भएको घटना थियो । राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् । ली हाल दक्षिण कोरियाको संसद्को सदस्य छैनन् । उनी सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा लड्ने अपेक्षा गरिएको छ।