१९ पुष,काठमाण्डौ ।
भारतको अयोध्यामा भगवान रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट अयोध्याका लागि भार यात्रा प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भार यात्रा भारतको अयोध्याका लागि प्रस्थान गरेको हो ।
आज राति भार यात्रा विरगञ्जमा विश्राम गर्नेछ भने जनवरी ५ तारिखमा सो भार यात्रा अयोध्या पुग्नेछ । अयोध्या पुगेको भोलिपल्ट भार यात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिएका छन् ।
पाहुरमा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेको छ । यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । उपहारसहितको भार लिएर २ सय ५१ ज्ना अयोध्या जाँदैछन् ।
विश्व हिन्दु परिषद्का पदाधिकारी सहितको उपस्थितिमा मंगलबार जानकी मन्दिर प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ‘विश्व हिन्दु परिषद्को समन्वयमा पवित्र काम हुन गइरहेकाले बताएका थिए ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित मन्दिरमा भगवान रामको ससुरालीको प्रतिनिधित्व गर्दै प्राणप्रतिष्ठाका लागि जानकीको घरबाट भारसहितका सामग्रीहरु लिएर जान लागिएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बताए ।
जनकपुरधाम जानकीको भुमि रहेकोले यहाँको प्रतिष्ठासँग जोडिएकाले पनि यस्तो शौभाग्यको अवसरलाई सदुपयोग गर्नुपर्नेमा नगरप्रमुख साहले जोड दिएका छन् । जनकपुरधाम निस्किएको भार यात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ ।
मलंगवाबाट बारास्थित गढीमाइ दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ । विरगञ्जमा वास बसेको भोलिपल्ट निस्किने भार यात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।