२२ पुष,काठमाण्डौ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलहरुमा जसोतसो सहमति जुटेपनि यसैलाई लिएर सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसमा भने चिसो बढेको छ । राष्ट्रिय सभा निर्वाचनको भागबन्डालाई लिएर फेरि एकपटक काँग्रेसमा गुटको टकराव बढेको छ ।
काँग्रेस संस्थापन इतर समूह पार्टी सभापति शेरबहादुर देउवासँग फायर भएको छ । इतर समूहले राष्ट्रिय सभामा आफ्ना लागि ४ सिट मागेको थियो । तर देउवाले तीन सिटमात्रै दिने भएपछि यो समूह अहिले छुट्टै छलफलमा जुटेको छ ।
आइतबार दिउँसो धुम्बाराहीस्थित सभापति देउवाको निवासमा छलफल गरेका महामन्त्री गगन थापा र नेता शेखर कोइराला छुट्टै छलफलमा जुटेका हुन् । उनीहरू अहिले विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा छलफल गरिरहेका छन् ।
छलपलमा महामन्त्री थापा, नेता कोइराला, उपसभापति धनराज गुरुङ, सह–महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेता बलबहादुर केसी उपस्थित छन्। आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई १० सिट दिनेगरी सहमति गरेको थियो ।उक्त सहमतिपछि कांग्रेसका नेताहरू आन्तरिक भागबन्डा मिलाउन लागेका हुन् ।
तर पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न बाँकी हुँदा उम्मेदवारी चयन ढिलाइ भइरहेको छ । संस्थापन इतरको बैठकमा शेखर कोइरालाले आफ्नो समूहका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरूलाई सचिवालयमा बोलाएका छन्।
‘पार्टीले निर्धारण गरेको मापदण्डअनुसार उम्मेदवार तय गर्न सभापति राजी हुनुभएन,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने, ‘अब हामी के गर्ने सामूहिक छलफल गर्दैछौं।’ साथै सभापति देउवाले आफूनिकट नेता व्यवस्थापन गर्न प्रदेशहरूमा सोहीअनुसार मिल्ने गरी क्लस्टर रोजेको संस्थापनइतरको आरोप छ।
कांग्रेसभित्र पटक–पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभा उम्मेदवार नबनाउन दबाब छ तर सभापति देउवाले पुरानै नेताहरूलाई अवसर दिन लागेको भन्दै विरोध भइरहेको छ ।
नेताहरू आन्तरिक छलफलमा जुटेपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक ४ बजेका लागि सारिएको थियो । तर दुवै पक्ष आन्तरिक छलफलमा रहेकाले चार बजे पनि बैठक बसेको छैन ।