Nepal Times
Nepal Times
3
Shares

पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?

पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?

२३ पुष,काठमाण्डौ ।
अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा मात्रै पाँच वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ ।

गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तराष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८–९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।

त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अवतरण गरेको उक्त जहाजमा सात जना चालकदल सदस्य र तीन जना पर्यटक पोखरा अवतरण गरेका थिए । उक्त विमान भुटान फर्किँदा पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए ।

त्यस्तै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएको राहत सामग्री बोकेर गत कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेका थिए । उड्डयन कार्यालयका अनुसार पोखरामा गत मङ्सिर ७ गते चौथो पटक अन्तरराष्ट्रिय चार्टर उडान भएको थियो ।

मङ्सिर ९ गते पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट हिमालयन एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो । उक्त उडानबाट १०४ जना यात्रु पोखरा अवतरण गरेका थिए । सञ्चालनको एक वर्षमा पोखराबाट एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन ।

जबकी वार्षिक १० लाख हवाइ यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो । यो विमानस्थल चिनियाँ एक्जिम ब्याङ्कबाट २८ अर्ब रुपियाँ भन्दा बढी ऋण लिएर निर्माण गरिएको हो । योे ऋण र ब्याज भुक्तानीको प्रक्रिया यही वर्षबाट सुरु हुने बताइएको छ ।

सरकारी अधिकारीका अनुसार विमानस्थलबाट हुने आम्दानीबाट नै ऋण तिर्ने योजना छ ।यद्यपि चीनले यो विमानस्थलको ऋणलाई बिआरआइको लगानीका रुपमा रुपान्तरण गर्ने योजना बनाएपछि नेपालले लगातार त्यसलाई अस्वीकार गर्दै आएको छ ।

तर विमानस्थलमा योजना अनुरूप उडानमा ढिलाइ हुनुले भने समृद्धिको ढोका खोल्छ भन्ने विश्वास राखिएको विमानस्थलले यही अवस्था रहने हो भने ऋणको भार बोकाउने र आर्थिक कठिनाइ निम्त्याउने जोखिम देखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.