२६ पुष, काठमाण्डौ ।
नेपाल क्रिकेटका चर्चित क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै ८ वर्षको जेल सजाय तोकिएपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । अदालतको फैसलापछि पीडित गौशाला २६ को भनिएको तस्विर सामाजिक संजालमा भाइरस भएपछि उनले थप कानूनी प्रक्रिया सुरु गरेकी छन् ।
आफ्नो तस्विर सार्वजनिक गरिदिने विभिन्न ६ वटा पेजविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी छिन् । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गौशला २६ को तस्विर सार्वजनिक गरेको भन्दै आफ्ना एक कार्यकतालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
अर्कातर्फ सन्दीपलाई तोकिएको सजायका विषयमा विभिन्न टिप्पणी भइरहेका बेला सन्दीप र पछिल्लो घटनालाई उल्लेख नगरी कनै नेपाली कांग्रेसका चर्चित तथा बौद्धिक नेता सांसद डा. चन्द्र भण्डारीले बलात्कारका घटना र कानूनी पक्ष उठान गरेका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।
सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको आवश्यकता ।’ उनले सामाजिक संजालमा राखेको अभिब्यक्तिलाई नाम उल्लेख नगरेपनि धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर हेरेका छन् ।धेरैले उनलाई प्रतिक्रिया जनाउँदै कानून संशोधन गर्न सुझाएका छन् ।
भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् । यसअघि गण्डकी प्रदेशका सांसदले विदेशीको इशारामा सन्दीपलाई फसाइएको आरोप लगाउँदै स्टाटस लेखेका थिए । बाग्लुङका सांसद कृष्ण पाठकले लेखेका थिए, ‘विदेशीको इशारामा एक होनाहार क्रिकेटरलाई बलि चढाइयो ।’ जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप भने उच्च अदालत जाने तयारीमा रहेका छन् ।