११ फागुन, एजेन्सी ।
संसारभरका लागि सपनाको देश भन्ने गरिने अमेरिका पुग्नका लागि वर्षेनी लाखौ आप्रवासीहरुले अवैध बाटोको प्रयोग गर्ने गरेका छन् । एसिया, अफ्रिका , ल्याटिन अमेरिकी राष्ट्र हुँदै खोला, जङगल हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेको संख्या वर्षेनी बढ्दै गएपछि अमेरिकाले मेक्सिको खुला सीमामा पर्खाल लगाइरहेको छ ।
तरपनि अमेरिकामा अवैध बाटो प्रयोग गरेर प्रवेश गर्नेको संख्यामा कमी आएको छै्रन् । यो संख्यामा नेपालीहरु समेत समेटिने गरेका छन् । धेरै नेपालीहरु जानाजानी वा दलालको फन्दामा परेर अवैध बाटोबाट अमेरिका पुग्ने योजनामा फस्ने गरेका छन् । यसरी नै अमेरिका पुगेका ८ नेपालीहरुलाई अमेरिकाले नेपाल नै फिर्ता गरेको छ ।
उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो । अवैध बाटो प्रयोग गर्दै १० बढी देश हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले पुष्टि गरेका छन् ।
उनले अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको बताएका छन् । “अमेरिकाले डिपोर्ट गरेका आठजना नेपाली बिहीबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमनका अनुशार उनीहरूलाई अमेरिकाले चाटर्ड प्लेनमा राखेर पठाएको थियो ।
डिपोर्ट भई आएकाहरूलाई आवश्यक कागजात गरी छोडिएको थियो । डिपोर्ट भई आएकाहरू केही समय अमेरिकाको जेलमा समेत बसेका थिए । मानवतस्करहरूको प्रलोभनमा परी बर्सेनि सयौंको संख्यामा नेपालीहरू ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका पुग्ने गर्छन् । यसरी जानेहरू अमेरिका प्रवेश गरेपछि आफूहरू शरणार्थी भएको दाबी गर्छन् । स्थानीय प्रहरीले उनीहरूलाई आवश्यक मुद्दा समेत चलाउँछ । पछिल्लो समय यसरी अमेरिका जाने धेरैलाई अमेरिकाले डिपोर्ट गर्दै आएको छ ।