१९ फागुन , विराटनगर ।
नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । जसको प्रभावले वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । मौसमविद्का अनुसार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली (पानी पार्ने मौसम प्रणाली) बिस्तारै पूर्व सर्ने क्रममा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक÷दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
साथै दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ ।
त्यस्तै भोलि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ । यसैगरी उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि सोमबारदेखि क्रमिक रूपमा मौसममा सुधार हुनेछ ।