२२ फागुन, एजेन्सी ।
अमेजनका संस्थापक जेफ बेजोस फेरि संसारकै धनाढ्य बनेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनी एलोन मस्कलाई पछि पार्दै फेरि संसारकै धनी व्यक्ति बनेका हुन् । ब्लुमबर्गका अनुसार बेजोसको कुल नेटवर्थ हाल २ सय बिलियन डलर छ भने मस्सको कुल नेटवर्थ हाल १९८ बिलियन डलर छ ।
ट्वीटर किनेपछि त्यसलाई एक्समा रिब्रान्डिङ गरेका मस्कले गत वर्ष ३१ बिलियन अमेरिकी डलर घाटा व्योहोरेको इन्डेक्समा उल्लेख छ । बेजोसले भने सोही समयमा २३ बिलियन डलर थप कमाएका छन् । मस्क एलभीएमएसका प्रमुख कार्यकारी अधिकृत बर्नाड अर्नाल्टलाई पछि पार्दै सन २०२३ को मे महिनामा संसारकै धनी व्यक्ति बनेका थिए ।
अर्नाल्टको कुल नेटवर्थ हाल १९७ बिलियिन रहेको छ । मस्क, बेजोस र अर्नाल्ट धनाढ्यको टप स्पटका लागि धेरै समयदेखि प्रतिस्पर्धामा छन् । विश्वमा चौथो धनीमा मेटाका संस्थापक मार्क जुकरबर्ग छन् । उनको कुल नेटवर्थ १७९ बिलियन अमेरिकी डलर छ । त्यसपछि बिल गेट्स १५० बिलियन अमेरिकी डलरसहित पाँचौ स्थानमा छन् ।
भारतका मुकेश अम्बानी ११५ बिलियन अमेरिकी डलर नेटवर्थसहित विश्वको धनाढ्यको सूचीमा ११ औं स्थानमा छन् । १२ औं स्थानमा भारतकै गौतम अडानी छन् । उनको कुल नेटवर्थ १०४ बिलियन अमेरिकी डलर छ । चीनका ज्याकमा ३०.६ बिलियन अमेरिकी डलरको नेटवर्थसहित विश्वको धनाढ्यको सूचीमा ५० औं नम्बरमा छन् ।
ब्लुमबर्ग बिलिनियर इन्डेक्सको सूचीमा जेफ बेजोस शीर्ष धनाढ्यको सूचीमा रहेपनि फोब्र्सको रियल टाइम बिलिनियर्समा बर्नाड अर्नाल्ट २२८ बिलियनसहित शीर्ष स्थानमा छन् । फोब्र्सको सूचीमा मस्क २०२ बिलियनसहित दोस्रो स्थानमा छन् भने जेफ बेजोस तेस्रो स्थानमा छन् ।
उनको कुल नेटवर्थ १९८ बिलियन रहेको उल्लेख छ । यो सूचीमा मुकेश अम्बानी नवौ स्थानमा छन् भने गौतम अडानी १७ ओं स्थानमा छन् । यो सूचीमा नेपालका एक मात्रै बिलिनियर्स विनोद चौधरी १ दशमलव ८ बिलियनसहित १६ सय ७२ औं स्थानमा छन् ।