३ चैत , काठमाण्डौ।
डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । जनता समाजवादी पार्टीबाट छुट्टिएर भट्टराई र महिन्द्र राय यादवको समूहले नेसपा गठन गरेको थियो । तर अहिले पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ ।
बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । यससंगै बाबुरामको यो पार्टी पनि दुई चिरा परेको हो । यता माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।
पार्टी एकताको सहमति गर्ने बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ सहभागी थिए भने नेसपाका तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव उपस्थित थिए ।
बैठकपछि दुई पार्टीका महासचिवले संयुक्त विज्ञप्ति जारी गरी पार्टी एकताको सहमति गरिएको जानकारी गराएका हुन् । बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ । साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ ।
कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् । माआवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवको संयुक्त वक्तव्यमा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ, एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराई भने पार्टी एकता गर्न हुँदैन भन्ने पक्षमा थिए । सोही कारण अर्का अध्यक्ष र उनीबीच पार्टीभित्र टकराव बढ्दै गएको थियो । सोहीबीच नेसपाले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।