१० चैत, काठमाण्डौ ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा अझै तीन दिनसम्म वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । ’कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ’, उनले भने, ’कोशी, वाग्मती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।’
पछिल्लो १२ घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा मापन भएको छ । साथै पश्चिमी भूभागहरूमा पनि वर्षा भएको मौसमविद झाले बताएका छन् । उता बझाङमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर–६ नौरामा गएराति साढे नौ बजे घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नरेन्द्रबहादुर सिंहकाअनुसार घाइते हुनेहरुमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, ९ वर्षीय नितेश सिंह र १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।
घाइते सबैको हात खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन् । घाइतेमध्ये लक्ष्मी सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।