१२ चैत , काठमाण्डौ ।
ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा २८ वर्षीय रोवस राई र ३० वर्षीय पुजन राईको हत्या आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ । होली खेल्ने क्रममा उत्पन्न विवादका कारण चक्कु प्रहारबाट राईद्वयको हत्या गरिएको खुलेको छ । रेवसको तिघ्रा र पुजनको छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकासँग प्रहरीले थप सोधपुछ जारी राखेको छ ।
रोवसको शव पाटन अस्पताल र पुजनको शव सुमेरु अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले ज्यान गुमाएका व्यक्ति र आरोपित सबै एकापसमा चिनजानकै युवा रहेका बताए । युवा र रेस्टुरेन्ट सञ्चालकका दुई समूहबीच झडप भएको हो । चक्कु प्रहारलगत्तै केही युवक फरार भएका थिए ।
सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पु¥याएको खुलेको छ । अस्पताल पु¥याइएलगत्तै चिकित्सकले रोवस र पुजनलाई मृत घोषणा गरेका थिए । घटना विजय राईको पपिना रेस्टुरेन्टमा भएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएको छ । उनीबाहेक थप १७ जनालाई प्रहरी वृत्त चापागाउँको टोलीले नियन्त्रणमा लिएको हो ।
मदिरा सेवन गर्न रेस्टुरेन्ट पुगेका युवा र सञ्चालकबीच विवाद हुँदा घटना भएको प्रहरी स्रोतको भनाइ छ । चक्कु प्रहार गर्ने विजय राई नै रहेको प्रहरीको दाबी छ । उनीहरूबीच पुरानो केही रिसइबी पनि देखिएको छ । प्रहरीका अनुसार, आइतबार राति ९ बजेतिर घटना घटेको थियो । घाइतेलाई राति करिब ११ बजे मात्र अस्पताल पु¥याइएको थियो ।
घटना शंकास्पद देखिएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै ललितपुर प्रहरीका एसएसपी खनाल समेत घटनास्थलमा पुगेका थिए । घटनामा चक्कु प्रहार गर्ने र अरू व्यक्तिको भूमिकाबारे अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई छन् ।