Nepal Times
Nepal Times
3
Shares

भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

भारतीय प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध

१३ चैत , एजेन्सी । 
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। यसअघि भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको थियो ।

भारतीय व्यापारीहरू यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भएपनि सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत रहने जनाएको छ । भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ ।

भारतका केही थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारू सम्म झरेको थियो । नेपालसहित बंगलादेश, मलेसिया, युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन् । भारतको प्रतिबन्धपछि यी देशहरूमा प्याजको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन् । चीन वा इजिप्ट जस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै बजारहरूमा छोटो ढुवानी समय भएको भारतले एसियाली देशहरूले आयात गर्ने प्याजको आधाभन्दा बढी हिस्सा ओगटेको बताइन्छ ।

भारतको पछिल्लो कदमले प्रत्यक्ष रुपमा नेपालमा समेत असर पर्नेछ । नेपालमा प्याजखेतीका लागि तराई र भित्री मधेसको जग्गा उर्वर मानिए पनि नेपालमा व्यावसायिक खेती न्यून छ । किसानले मौसमी बालीका रूपमा लगाएको प्याज सहरी क्षेत्रका उपभोक्ताका लागि बजारसम्म आइपुग्न सकेको छैन । उत्पादन लिन लामो समयसम्म कुनुपर्ने र पहिलो तीन महिना निरन्तर सिँचाइ सुविधा पु¥याउनुपर्ने कारण किसानहरू प्याजखेतीमा खासै आकर्षित हुन नसकेको कृषिविद्हरु बताउँछन् ।

भारतको यस निर्णयले नेपाल लगायतका देशहरुमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ। नेपालमा जम्मा खपतको ९० देखि ९५ प्रतिशत प्याज आयातित हुन्छ। कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार वर्षैपिच्छे नेपालमा १० हजार हेक्टर जमिनमा लगाइने प्याजबाट १ लाख ६९ हजार मेट्रिक टन उत्पादन हुन्छ।

नेपालमा प्याजको उत्पादकत्व अर्थात् प्रति हेक्टर करिब १२ मेट्रिक टन उत्पादन हुन्छ। तर नेपाली बजारको माग भने ४ लाख १ हजार मेट्रिक टन रहेको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार एक आर्थिक नेपालमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको थियो। त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.