१९ चैत ,काठमाण्डौ।
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । नेपालले एक खेलअघि श्रृंखला गुमाइसकेको छ । श्रृंखलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधि जितिसकेको छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
त्यसैले आज नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ । दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो । दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन । पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए ।
नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ ।
उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए । कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ । बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ ।
त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ । टी–२० श्रृंखलापछि यी दुई टोलीले बुधवारदेखि तीन खेलको एकदिवसीय श्रृंखला खेल्नेछन् । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी–२० र एक दिवसीयलाई फरक–फरक टोली घोषणा गरेको थियो ।