Nepal Times
Nepal Times
3
Shares

इरानको इजरायलमा आक्रमण, बाइडेनको आकस्मिक बैठक

इरानको इजरायलमा आक्रमण, बाइडेनको आकस्मिक बैठक

२ वैशाख , एजेन्सी ।

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि विभिन्न देशले पहिलो प्रतिक्रिया जनाएका छन् । आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसको लागि दृढताका साथ खडा छौँ।’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपति बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिबारे निरन्तर अपडेट गराइरहेको जानकारी दिए । एड्रियनले भने, ‘उनको टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ।

अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ।’ ‘जो बाइडेनको सन्देश एकदम स्पष्ट छ – हामी इजरायलको सुरक्षाको लागि पूर्ण सहयोग गर्नेछौँ। अमेरिका इजरायलका जनताको पक्षमा उभिनेछ र इरानबाट हुने खतराको विरुद्धमा इजरायलको सुरक्षामा पूर्ण सहयोग गर्नेछ,’ उनले भनेका छन् । आइतबार बिहान इरानले इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।

यसैबिच बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकले इरानको आक्रमणको आलोचना गरेका छन् । जो बाइडेन र ऋषि सुनकले इजरायललाई समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।बेलायतको सुरक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।

भारतको विदेश मन्त्रालयले पनि प्रतिक्रिया जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पश्चिम एसियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् । जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘इजरायल र इरानबिचको तनावले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेको छ । हामी यसप्रति धेरै चिन्तित छौँ ।हामी हिंसाबाट पछि हट्ने र कूटनीतिमार्फत समाधानको वकालत गर्छौँ।

’विज्ञप्तिमा थप भनिएको छ, ‘भारतले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र त्यस क्षेत्रमा भारतीय समुदायसँग सम्पर्क राखिएको छ। त्यहाँ शान्ति कायम राख्नु अति आवश्यक छ। यता चीनले पनि पछिल्लो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै चीनले थप तनाव बढ्न नदिन सम्बद्ध पक्षलाई शान्त रहन अपिल गरेको हो ।

चीन र इरानबिच नजिकको कूटनीतिक र आर्थिक सम्बन्ध रहेको छ । इजरायलस्थित नेपाली राजदूतावासले पनि इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएको उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, ’आगामी सोमबार राती ११ बजे सम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठुलो स्तरको सभा–भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकारलागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ। ’

इरानले अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ। यसको बदला लिन इरानले इजरायलमाथि हमला गरेको उसको भनाई छ । तर इजरायलले सिरियास्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.