६ वैशाख ,एजेन्सी ।
जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार रातीको खेलमा गुजरात टाइटेन्सलाई ६ विकेटले हराउँदै तेस्रो जित दर्ता गराएको हो । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो ।
९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा नटआउट रहे ।
गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए । त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानले सर्वाधिक ३२ रन बनाए । साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि मुकेश कुमारले २.३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका थिए । इशान्त शर्माले २ ओभरमा ८ रन दिदै २ विकेट लिए । ट्रिस्टन स्टुबले २, खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिएका थिए । ७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र समान खेलमा समान ६ अङ्क नै रहेको गुजरात सातौं स्थामा छ ।
शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ । आइपिएलमा आज बिहीबार पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब र मुम्बईले यो सिजन समान ६ खेल खेलेकोमा समान दुई खेल जितेका छन् । समान ४ अङ्क रहेकोमा पञ्जाब तालिकाको आठौँ र मुम्बई नवौँ स्थानमा छ ।