Nepal Times
Nepal Times
3
Shares

नौं वर्षअघिको त्यो कहालिलाग्दो दिन, कसरी सम्झनुहुन्छ ?

नौं वर्षअघिको त्यो कहालिलाग्दो दिन, कसरी सम्झनुहुन्छ ?

१२ वैशाख ,काठमाण्डौ।

नौं वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्प सम्झिदा अहिले पनि धेरैको मुटु हल्लिन्छ । सो महाभूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ लाख २ हजार २ सय ५७ नागरिकका घर तथा २ हजार ६ सय ७३ सरकारी भवन पूर्णरुपमा क्षति भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ बजेर ५६ मिनेटमा उक्त भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १४ किलोमिटर गहिराइमा केन्द्रविन्दु भएको भूकम्प एक मिनेटजति निरन्तर कम्पन भएको थियो । त्यसपछि पनि सानाठूला परकम्प मापन गरिएको छ । उक्त भूकम्पपछि आजसम्म कैयौँ परकम्प मापन गरिएको छ ।

सानाठूला सबै गरी गोरखा भूकम्पका ५५ हजारभन्दा बढी परकम्प मापन गरिएको छ। भूकम्पबाट लाखौँ घरमा क्षति पुग्यो । धरहरा ढल्यो । कयौँ धार्मिक र सांस्कृतिक सम्पदा ढले वा क्षतिग्रस्त भए । सम्झँदा अहिले पनि कहाली लाग्छ । ७२ को भूकम्प अघि वि. सं. १९९० को माघ २ गते गएको भूकम्पलाई नेपालमा पछिल्लो समय गएको सबैभन्दा ठूलो भूकम्प भनिन्थ्यो ।

भूकम्पका कारण क्षति पुगेका संरचनाका पुनर्निर्माणको कामले बिस्तारै पूर्णता पाइरहेको छ । तर नेपालले यस्ता भूकम्पहरूबाट खासै पाठ सिकेको छैन । भूकम्पको पूर्वतयारीमा अझै जोड नदिइएको विज्ञहरुले बताउदै आएका छन् । भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको जनाएका हुन् । भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले आज श्रद्धाञ्जली कार्यक्रम पनि गरेको छ । गोरखा भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो।

बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित घोषणा गरेको थियो। भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो। अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो।

अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो। भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो। नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा पर्दछ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.