१६ वैशाख ,एजेन्सी ।
काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा छन् । सम्मेलनकै पहिलो दिन विभिन्न सम्झौता भएका छन् । भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर शुसील शर्माले २०३० सम्म नेपालमा ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने बताएका छन् ।
जारी तेस्रो लगानी सम्मेलनमा उनले सतलजले हाल नेपालमा २ हजार २ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको भन्दै सन् २०३० सम्म ५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरेका हुन् । ‘नेपालमा सन् २०३० सम्म ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाउन चाहान्छु’ उनले भने।
सतलजले नेपालमा २००८ देखि लगानी सुरू गरेको हो । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत विकासका लागि सम्झौता गरेर नेपालमा लगानी सुरू गरेको उल्लेख गर्दै उनले अहिले २२ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको उल्लेख गरे । यी ३ परियोजनाहरु विकासको विभिन्न चरणमा छन् ।
शर्माले सतलजले अहिले नेपालको जलविद्युतमा ३ खर्ब ३० अर्ब रूपैयाँ लगानी गरिसकेको छ । उनले नेपालमा लगानी गर्न सहज वातावरण रहेको भन्दै सहज भएकै कारण अरूण तेस्रो जलविद्युत आयोजनाको विकासमा अघि बढेको बताए । यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र मलेसिया बीच व्यापार तथा लगानी प्रवर्द्धन हुने छ । समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ।
डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। डेटा सेन्टर स्थापनाकोलागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। टायर थ्री स्टान्र्डडमा निर्माण हुने के वान डाटा सेन्टर नेपालकै सबैभन्दा ठूलो र पहिलो सुपर क्लाउड डाटा सेन्टर हुनेछ ।