२० वैशाख , काठमाण्डौ ।
नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी दुई विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका हुन् ।
सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहनेछन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलर हुन् । हालसम्म नेपालले ८५ टि२०आई खेल खेल्दा सोमपालले त्यसमध्ये ६५ खेल खेलेका छन् ।
सोमपालले ६५ खेलमा ५८ विकेट लिएका छन् । स्ट्राइक बलरको भूमिकामा रहेका उनले पावरप्लेमा बलिङ गरे पनि इकोनोमी रेट भने ७.१९ मा सीमित राखेका छन् । ब्याटिङतर्फ पनि उनले ३८ इनिङ खेल्दै ३ सय १५ रन जोडेका छन् । नेपालले भने आफ्नो क्रिकेट इतिहासको पहिलो टि२० अन्तर्राष्ट्रिय खेल २०१४ को विश्वकपमा हङकङविरुद्ध नै खेलेको थियो ।
त्यस खेलमा सोमपालले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए । नेपालले विश्वकपको पहिलो खेलमै जित दर्ता गर्दै इतिहास समेत रचेको थियो । यसबीचमा चोटका कारण सोमपाल केही समय टोलीबाहिर पनि रहे । सन् २०२२ को विश्वकप छनोट नै गुमाएका उनले त्यसयता भने नियमित खेलिरहेका छन् ।
२०१४को विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टिममा छन् । तत्कालीन कप्तान खड्काले अहिले क्यानको सचिव भएर सिंगो क्रिकेटकै कमान्ड सम्हालिरहेका छन् । त्यो विश्वकपदेखि यो विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइसकेको छ ।
त्यसबेला नेपालको मुख्य अस्त्र बलिङ थियो भने ब्याटिङ हाम्रो कमजोरी थियो । अहिले ब्याटिङ हाम्रो मुख्य अस्त्र बनेको छ भने बलिङ सहायक बनेको छ ।