२२ वैशाख , एजेन्सी ।
क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सिख नेता ४५ वर्षका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेका छन् ।
हिजो पक्राउ परेका उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ । तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए, जहाँबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको उनले बताए । अदालतको अभिलेख अनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ ।
प्रहरीले अनुसन्धान जारी रहेको र उनीहरूको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ । सिख पृथकतावादी नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेपछि दुई देशबीच ठूलो कूटनीतिक विवाद उत्पन्न गरेको बीबीसीले जनाएको छ ।
निज्जरको अघिल्लो वर्ष जुन १८ तारिखमा क्यानडाको ब्रिटिश कोलम्बियामा रहेको एक सिख मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए ।
तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ । निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।