२८ वैशाख, काठमाण्डौ ।
एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार चिरन्जिवी नेपालले विरोध गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील राष्ट्रपति माथि नै प्रश्न गरेका छन् । शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिनुभएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा राष्ट्रपति पौडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग गरेका छन् ।
ओलीले संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेको आरोप समेत लगाए । राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाएका छन् । उनले हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्सा राख्नुपर्ने पनि बताएका छन् ।
नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने उनले बताएका छन् । भारततर्फ लक्षित गर्दै उनले नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘एउटा कुरा राष्ट्रियताको पक्षमा अत्यन्त गैरजिम्मेवार र खेलवाडपूर्ण ढंगका अभिव्यक्तिहरु आएका छन् ।
नेपालले नेपाली नोटमा नेपालको नक्शा छाप्छ भन्ने एउटा खबर आयो । तपाईंहरुले पनि सुन्नुभयो होला । नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्सा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको नक्सा छाप्ने होइन । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर ।
कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ । नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा न्युनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछाँै । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो ।
आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहन्छाँै ।’ यसअघि नागरिक समाजका अगुवाहरूले पनि सल्लाहकार नेपाललाई पदबाट बर्खास्त गर्न माग गरेका थिए । राष्ट्रपतिका सल्लाहकारलाई पदबाट बर्खास्त गर्न नागरिक अगुवाहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले माग गरेका हुन ।
यसअघि सरकारले सयको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि भारतीय विदेश मन्त्री एस जयशंकरले पनि टिप्पणी गरेका थिए । जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’