Nepal Times
Nepal Times
3
Shares

पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?

पोर्न स्टारसँगको संगत ट्रम्पलाई भारी पर्याे, ३४ कसुरमा दोषी, चुनाव लड्न पाउँलान् ?

१८ जेठ, एजेन्सी ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् । यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ । दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ ।

आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको छ । यद्यपि बीबीसीले जेल नभएर जरिवानाको सजाय हुन सक्ने बताएको छ । ट्रम्पको कानुन समुहले भने फैसलाको पुनरावेदन गर्ने बताएको छ । ट्रम्पका राजनीतिक समर्थकहरुले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा उठेका ट्रम्पलाई रोक्न कानूनी दुरुपयोग गरेको आरोप लाएका छन् ।

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् । अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका न्यूनतम योग्यता तोकेको छ । उम्मेदवार कम्तीमा ३५ वर्षको हुनु पर्छ, आजीवन अमेरिकी नागरिक हुनु पर्ने अनि कम्तीमा १४ वर्षसम्म अमेरिकामै बसेको हुनु पर्छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन । जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् । यसको अर्थ ट्रम्प चुनावमा सहभागी हुन सक्छन् । यद्यपि फैसलाले ट्रम्पले पाउने मत प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ । ट्रम्पले अदालतको यस निर्णयलाई लाजमर्दो र धाँधलीपूर्ण बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रचार प्रसारमा खटिएको टोलीले ‘कानुनभन्दा माथि कोही नभएको’ भन्दै अदालतको निर्णयलाई उचित ठहर गरेको छ । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार हुन् । बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् ।

सन् २०१६ मा राष्ट्रपति चुनाव अघि आफूहरूबिचको यौन सम्बन्ध गुपचुप राख्न ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर हश मनी दिएका थिए । यसै मामिलामा ट्रम्पमाथि हश मनी लुकाएको र व्यापार रेकर्डमा हेरेफेर गरेको भन्दै ३४ ओटा मुद्दा चलिरहेको थियो । ट्रम्पले भने व्यापारमा हेरफेर गरेको आरोप अस्वीकार गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.