Nepal Times
Nepal Times
3
Shares

विश्वकप छनोटमा नेपालको पाँचौ हार

विश्वकप छनोटमा नेपालको पाँचौ हार

२५ जेठ , एजेन्सी ।
फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा नेपाल ४–० ले पराजित भएको छ । बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल थपे ।

खेलेको १२औँ मिनेटमा हरिब अब्दल्लाह अलमुसारखले गोल गर्दै यूएईलाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि अलमुसारखले नै यूएईको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल बेहोरेको नेपालले दोस्रो हाफमा पनि दुई गोल बेहो¥यो । खेलको ५३औँ मिनेटमा अली सालेहले गोल गर्दै यूएईलाई ३–० को अग्रतामा राखेका थिए ।

यस्तै, ७५औँ मिनेटमा अब्बासले गोल गरेपछि यूएईले ४–० को जित निश्चित गरेको हो । यसअघि पहिलो लेगमा पनि नेपाल ४–० ले नै पराजित भएको थियो । छनोटमा नेपालको यो लगातार पाँचौँ हार हो । प्रतियोगितामा हालसम्म नेपालले १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । छनोटको समूह ’एच’मा रहेको नेपाल तालिकाको पुछारमा छ ।

छनोटमा अपराजित यूएई भने १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेलेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रंगशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।

सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रंगशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नुपर्ने जानकारी गराएको थियो । सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरबमा खेलेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरबमै खेलिने छ ।

एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १८ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो । बिहीबार राति नै खेलिएको समूह ‘जी’ अन्तर्गतको खेलमा साउदी अरेबियाले पाकिस्तानलाई ३–० गोलले हरायो । समूह ‘आई’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २–० गोलले पराजित गर्यो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.