६ असार, विराटनगर ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भनिएको सहकारी प्रकरणमा छानविनका लागि संसदीय समितिले काम गरिरहेको र सहकारीकै प्रकरणलाई जोडेर सर्वाेच्चमा रविविरुद्धको रिट विचाराधीन रहेको अवस्थामा सहकारी ठगी मुद्दामा रविविरुद्ध अर्को जाहेरी दर्ता भएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो ।
सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र जीबी राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए । उक्त जाहेरी हिजो बुधबार दर्ता भएको हो ।
यसैबीच गृहमन्त्री लामिछानेले भने गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन् । आफूले मलेसियाका गृहमन्त्रीसँग कुरा जीबी राईका बारे कुराकानी गरिसकेको पनि गृहमन्त्री लामिछानेले बताएका छन् ।
भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसनसमेत पत्ता लागेको जानकारी दिएका हुन् ।
उनले भने ’यस विषयमा अनुसन्धान धेरै नजिकमा आइपुगेको छ । योबीचमा मलेसियाका गृहमन्त्रीसँग मेरो २ पटक कुराकानी भएको छ । ३/४ दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ । हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले अलिकति कूटनीतिक पहलहरूमा समय लागेको छ । तर नजिक छौँ । हाम्रो कोसिस दिनरात हामी गरी नै रहेका छौँ ।’
जीबी राई कहाँ छन् भन्ने थाहा छ त ? भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री लामिछानेले भने, ’मलाई गृहमन्त्रीले नै कन्फर्म गर्नु भएको छ लोकेसन ।’
पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि जीबी राई फरार छन ।
फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।
मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन । राईसहित १४ जना अझै फरार छन ।
राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ ।
त्यसमध्ये सूर्यदर्शनको हिनामिनासम्बन्धी कसुर मात्रै अनुसन्धान भएर राईसहित प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । राई संलग्न अन्य सहकारीको हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यता रवि लामिछानेको नाम मुछिएका सहकारीहरुको नामै उल्लेख गरेर संसदीय विशेष छानविन समिति पनि बनेको छ, जसले आफ्नो काम पनि सुरु गरिसकेको छ ।
यस्तै सहकारी प्रकरणमा जोडिएकै कारण रविले गृहमन्त्रालयको नेतृत्व सम्हाल्न नमिल्ने भन्दै सर्वाेच्चमा समेत रिट दायर भएको छ । रविलाई गृहमन्त्रीबाट पदमुक्त गर्नुपर्ने माग गरिएको सो रिट विचाराधीन रहेको छ ।