१२ असार , एजेन्सी ।
श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दैछन् ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ’ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ तारिखमा खेल्नेछ भने भारतसँग जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ । समूह ’बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपालले यसअघि सन् २०१२ र २०१६ मा टी–२० महिला एशिया कप खेलेको थियो । यता लेबनानमा हुने सेडास वुमेन्स कप–२०२४ को पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली जोर्डनसँग भिड्ने भएको छ । लेबनान फुटबल संघले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले असार २६ गते जोर्डनसँग खेल्ने भएको हो ।
साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा नेपाल जोर्डनसँग टाइब्रेकरमा हारेको थियो । सेडास वुमेन्स कपअन्तर्गत दोस्रो खेलमा असार २९ गते नेपाल बंगलादेशविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले साउन १ गते लेबनानसँग खेल्ने तालिका छ । चार देश सम्मिलित प्रतियोगिता सिंगल राउन्ड रोविनमा हुनेछ ।
समूह चरणको शीर्ष २ मा रहने टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताका लागि नेपालले २२ सदस्यीय टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीको अन्तिम नामावली घोषणा गरेको हो । वाफ च्याम्पियनसिप खेलेको टोलीबाट मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बुले पुनरागमन गरेका छन् ।
यो प्रतियोगितापछि नेपालले कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ । नेपालले यो प्रतियोगितालाई साफकै तयारीका रूपमा लिएको छ । नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ यस्तै डिफेन्डरः अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे रहेका छन् ।
यसैगरी मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी, फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ रहेका छन् ।