१६ असार, एजेन्सी ।
लेबनानमा हुन लागेको सेडास वुमन इन्टरनेशनल टुर्नामेन्टमा सहभागिता जनाउन तयारी गर्दै गरेको नेपालले अब सो प्रतियोगिता नखेल्ने भएको छ । लामो समयदेखि हमास विद्रोहीसँग युद्ध लडिरहेको इजरायलको छिमेकी देश लेबनानमा पनि संघर्ष चर्किने सम्भावना बढ्दै गएपछि नेपाली टोली रोकिएको हो । युद्धको जोखिमकै बीच आयोजक राष्ट्र लेबनानामा चार देश सम्मिलित ‘सेडास वुमन इन्टरनेशनल टुर्नामेन्ट’ हुन लागेको हो ।
सोही कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक देश लेबननमा विकसित भएको घटनाक्रमबाट खेलाडीहरूको सुरक्षामा प्रश्न उठेको भन्दै नेपाली महिला फुटबल टोलीलाई त्यहाँ नपठाउने निर्णय गरेको जनाएको छ । ‘लेबननमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघले लेबननमा जुलाई ८ देखि १६ सम्म हुने ‘से डास वुमन इन्टरनेशनल टुर्नामेन्ट’प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले भनेको छ ।
प्रतियोगितामा आयोजन बेलनन, जोर्डन, बंगलादेश र नेपाल सहभागी हुँदै थिए । बंगलादेशले यसअघि नै सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा भाग नलिने निर्णय गरिसकेको थियो । एन्फाले उक्त प्रतियोगिताका लागि लामो तयारी गर्दै खेल्न जाने टोली समेत घोषणा गरिसकेको थियो । तर, इजरायलमा जारी युद्ध चर्किदै गएपछि त्यसको असर छिमेकी देश लेबननमा पनि पर्ने भन्दै नेपाल र बंगलादेश उक्त प्रतियोगिताबाट पछि हटेका हुन् ।
एन्फाले महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने समेत आश्वासन दिएको छ । ‘नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइनेछ,’ एन्फाले भनेको छ । नेपालले आउँदो कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ ।