२३ असार, विराटनगर ।
सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो । दुई दिनदेखिको अविरल वर्षाको कारण कोशी उर्लिएको हो ।
प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ७० हजार क्यूसेक पानी बगिरहेको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढिरहेको छ । यसअघि आइतबार बिहान ६ बजे पानीको बहाव तीन लाख ४२ हजार क्युसेक रहेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाव बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताएका छन् ।
उनले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको बताए । यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ ।
यस्तै अविरल वर्षासँगै बाढी पहिरोका घटना बढिरहेका छन् । बाढी पूर्वानुमान महाशाखाले आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।
त्यसैगरी आज आज झापा, मोरङ, सुनसरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, बारा, गोरखा, कास्की, अर्घाखाँची, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, म्याग्दी, पर्सा, चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, जाजरकोट, सुर्खेत, अछाम, बाजुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बहने अधिकांश नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।a