२३ असार, एजेन्सी ।
उरुग्वेसँग टाइब्रेकरमा पराजित हुँदै ९ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
आज बिहान भएको खेलमा ब्राजिललाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे सेमिफाइनलमा पुगेको हो ।
ब्राजिलका लागि पहिले पेनाल्टी प्रहार गर्न आएका एडेर मिलिटाओ र तेस्रो नम्बरमा आएका लुइसको प्रहार विफल हुँदा ब्राजिल अन्तिम ८ बाटै घर फर्किएको हो ।
उरुग्वेका जोसे मारियाबाहेक अन्य सबैले गोल गर्न सफल भए । निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
निर्धारित समयको ७४ औँ मिनेटमा उरुग्वे १० खेलाडीमा सिमित हुन पुग्यो । नहितान नान्देजले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि उरुग्वे १० खेलाडीमा समेटियो । यो पटक राम्रो खेल पस्कन नसकेको ब्राजिल अन्तिम चारमा पुग्न असफल रह्यो ।
उरुग्वेले अब फाइनल प्रवेशका लागि कोलोम्बियासँग खेल्नेछ । आजै भएको अर्को क्वार्टरफाइनलमा पानामालाई ५–० को फराकिलो अन्तरले हराउँदै कोलोम्बिया सेमिफाइनलमा पुगेको छ । योसँगै कोपा अमेरिकाको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनल खेल बुधबार र बिहिबार हुनेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्नेछन् ।
उता नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड युरो कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।
गएराति भएको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्स अन्तिम चारमा पुगेको हो ।
सामेत अकादिनले ३५ मिनेटमा गोल गर्दै टर्कीलाई अग्रता दिलाएपनि नेदरल्याण्ड्सका स्टेफन दि भ्रिजले ७० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।
तर ७६ औँ मिनेटमा टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्स विजयी हुँदै सेमिफाइनलमा पुगको हो ।
अर्को खेलमा इङ्ग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्वीटजरल्याण्डलाई ५–३ ले हरायो । नियमित समयको ७५ मिनेटमा स्वीटजरल्याण्डका एम्बोलोले गोल गरेर अग्रता दिलाएपनि त्यसको पाँच मिनेटमै इङ्ग्ल्याण्डका साकाले गोल गरेर खेललाई बराबरीमा फर्काएका थिए ।
यसपछि थपिएको ३० मिनेटमा पनि खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । अब पहिलो सेमिफाइनलमा आउँदो बुधवार राति फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा बिहिवार राति इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।
सेमिफाइनलमा पुगेका टिम मध्ये स्पेन सबैभन्दा सफल टिम हो । स्पेन ३ पटकको च्याम्पियन हो भने फ्रान्स २ पटक च्याम्पियन बनिसकेको छ । अब यी दुई मध्ये एक टिम सेमिफाइनलबाटै बाहिरिने छ ।
यस्तै नेदरल्याण्ड्स एक पटकको विजेता हो भने इङ्ग्ल्याण्डले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन् ।