२३ असार, विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले विराटनगरमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरेका छन् ।
विराटनगरको शनि मन्दिर रोडमा अवस्थित ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीको प्रांगढमा आयोजित कार्यक्रममा दीपेन्द्रसंग साक्षात्कारका लागि विद्यार्थीहरुको घुँइचो लागेको थियो ।
कन्सल्टेन्सीका ब्राण्ड एम्बेसडरसमेत रहेका दीपेन्द्रले विद्यार्थीहरुमाझ आफ्ना अनुभव र करियरको गाथा सुनाएका थिए ।
शुक्रबार भएको सो मिट एण्ड ग्रिट कार्यक्रममा क्रिकेटप्रेमी विद्यार्थीहरुको उत्साह गज्जब देखिएको थियो ।
उनीहरुले ऐरीसंग १ घण्टा अन्तरक्रिया गरे । सो क्रममा विद्यार्थीहरुले सोधेका प्रश्नको ऐरीले जवाफसमेत दिएका थिए ।
विद्यार्थीहरुसँग ऐरीले उनको विगत कोट्याए भने भविष्यका खेलहरुको अनुमानित नतिजासमेत सोध्न भ्याए । विराटनगरमा पहिलो पटक आउँदा आफूलाई खुसी लागेको ऐरीले बताए ।
सो क्रममा एक विद्यार्थीले ऐरीलाई प्रश्न सोधिन्, ‘तपाईहरुले अन्तर्राष्ट्रिय क्रिकेटमा मन त जितिरहनुभएको छ, खेल कहिले जित्ने ?’ जवाफमा ऐरीले त्यो दिन पनि चाँडै आउने बताए । उनले भने, ‘विस्तारै समय आउँछ ठूलो टिमलाई हराउने, हामी ठूला टिमहरुसँग भर्खर भर्खरै प्रतिष्पर्धा गर्दैछौं । सिक्दैछौं ।’
अर्की एक किशोरीले सोधिन्, ‘तपाई क्रिकेटको टाइगर हो, तपाईले अरु टाइगर कहिले जन्माउने ?’ प्रश्नमा दीपेन्द्र हाँसिरहेपछि उनको छेउमा बसेका खेल विश्लेषकले जवाफ दिए, ‘त्यो टाइगर अब बिराटनगरले जन्माउनुपर्छ ।’
अन्तरक्रियापछि विद्यार्थीहरु ऐरीसँग फोटो खिचाउँन तथा उनको आटोग्रफ लिन तछाँडमछाँममा देखिए ।
कार्यक्रममा अन्तक्र्रियाका साथै विराटनगर युथ क्लब क्रिकेट एकेडमीलाई क्रिकेटको एक सेट सामाग्री वितरण तथा कोच मोति चौधरीलाई सम्मान पनि गरिएको थियो ।
यस्तै ७ जना उत्कृष्ट बिजेतालाई दिपेन्द्र सिंह ऐरीले साइन गरेको ब्याटसमेत प्रदान गरिएको थियो । दीपेन्द्र ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीको कार्यालयमा गरिएको कार्यक्रमपछि लायन्स क्लब विराटनगर गुराँशले आयोजना गरेको सम्मान कार्यक्रम सहभागी भएका थिए ।
दुवै कार्यक्रममा उल्लेख्य खेलप्रेमीको सहभागता रहेको थियो । अब आगामी दिनमा पनि यस्तै खेल र खेलाडीको सम्मानमा ग्रेसले सहयोग गर्ने जानकारी ग्रेसका डाइरेक्टर प्रदिप बास्तोलाले दिए ।
उनले शिक्षा र खेलकुदको विकास सँगसँगै गर्न आवश्यक रहेको बताउँदै त्यसमा कन्सल्टेन्सीले भुमिका खेलिरहेको बताएका छन् ।