३० साउन, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रदर्शन गरिने धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा विराटनगरमा भदौ ११ गते निकालिँदै छ । उक्त रथयात्राको तयारीबारे बुधबार मोरङ प्रशासनमा छलफल भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राबारे आयोजक समिति, सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गरेका हुन् । रथको मर्मत–सम्भार, तयारी र रथयात्राका लागि चाहिने आवश्यक सुरक्षाकर्मी र स्वयंसेवकबारे भट्टराईले जानकारी लिएका छन् ।
प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा परिचित छ । विश्व हिन्दू समुदायमा विराटनगरको रथयात्रालाई चिनाउनेगरी तयारी गर्न कैलाश रेग्मीको अध्यक्षतामा ५०१ सदस्यीय आयोजक समिति र १८ सदस्यीय उपसमिति गठन गरिएको छ ।
यसपालिको रथयात्राको शुभारम्भ कोशी प्रदेशकका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीलगायतले गर्ने श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष रेग्मीले जानकारी दिए ।
‘मुख्यमन्त्री कार्की प्रमुख अतिथिका रूपमा शुभारम्भ कार्यक्रममा आउनुहुनेछ भने मेयर कोइराला संरक्षकका रूपमा हुनुहुनेछ,’ उनले भने, ‘अघिल्लो वर्ष उल्लेख्य रूपमा भक्तजनले अवलोकन गर्नुभएको थियो । यसपालि अझै बढ्ने हाम्रो आँकलन छ ।भदौ ११ गते विराटनगर महानगरपालकिा–१ स्थित पानीट्यांकीबाट निस्कने रथयात्रा नगर क्षेत्रको विभिन्न ४३ स्थानमा रोकेर पुनः मन्दिरमा पुगेर समापन हुने उनले बताए ।
रथयात्राको तयारीका लागि शान्ति सुरक्षा, रुट व्यवस्थापन र अतिथि आमन्त्रणलगायतका काम जारी छ भने स्वयंमसेवक परिचालन तथा रथ सजावटको कार्य बाँकी रहेको छ ।
कोशी प्रदेशसहित नेपाल र भारतका पाँच लाखभन्दा बढी भक्तजनहरूले श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने आँकलन गरिएको रथयात्रा आयोजक समितिका सचिव कृष्ण कार्कीले बताएका छन् ।
१९८९ सालबाट सुरु भएको खटयात्रालाई विकाश र परिमार्जन गर्दै २०२५ सालदेखि यहाँ राधाकृष्ण रथयात्राको रुपमा प्रदर्शन गरिँदै आएको छ । यो ९३औं संस्करणको रथयात्रा हो ।
यसपटकको रथयात्रा पनि अघिल्लो वर्षझैं पानी ट्याङकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु गरेर तीनपैनी, गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर, भृकुटी चोक र बरगाछीबाट दुर्गा चोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।