१ भदौ, विराटनगर ।
एउटा मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला । झट्ट हेर्दा र सुन्दा केही होइनजस्तो लाग्न सक्छ । तर, यसलाई उटा दुर्लभ संयोगकै रूपमा लिन सकिन्छ । परराष्ट्र मन्त्रालयको ७३ वर्षे इतिहासमा पहिलोपटक यस्तो संयोग जुरेको हो ।
यसपटक महिला नेतृत्वले मुलुकको परराष्ट्र सम्बन्ध हाँकिरहेको छ । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा र परराष्ट्र सचिव सेवा लम्साल नेतृत्वको टोलीले अन्य मुलुकसँगका मामिला हेर्ने सबैभन्दा उच्च निकाय परराष्ट्र मन्त्रालय हाँकिरहेको छ । महिला मन्त्रीले यसअघि नै परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालिसकेको भए पनि सचिवमा भने लम्साल पहिलो नै हुन् । तर, मन्त्री र सचिव महिला नै भएको भने ७३ वर्षे इतिहासमा यो नै पहिलो पटक हो ।
गत वर्षमात्र सहसचिवबाट सचिवमा बढुवा भएकी लम्साल परराष्ट्र मन्त्रालयको २५औं सचिवका रूपमा आएकी हुन् । डा. राणा भने परराष्ट्र मन्त्रालयको जिम्मेवारी काँधमा लिने चौथो महिला मन्त्री हुन् । यसअघि सहाना प्रधान, सुजाता कोइराला र बिमला राई पौड्याल परराष्ट्र मन्त्री बनेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनुन्जेल प्रथम महिला (फर्स्ट लेडी) को भूमिका बहन गरेसकेकी डा. रााणा पहिलोपटक मन्त्री बनेकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी राणाले गत असार ३१ गते मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी राणा संविधानसभा सदस्य पनि हुन् । प्रतिनिधिसभामा तेस्रो पटक प्रतिनिधित्व गरिरहेकी राणा संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन् ।
महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी महिलासमेत रहेकी राणाले परराष्ट्रको जिम्मेवारी सम्हालेको एक महिना पूरा भएको छ । परराष्ट्रमा धेरै महिला कर्मचारी देख्दा आफू उनी थप उत्साहका साथ काम गरिरहेकी छन् । ६२ वर्षीया डा. राणा देउवाले भारतको पञ्जाब विश्वविद्यालयबाट संगठनात्मक मनोविज्ञानमा विद्यावारिधि गरेकी छिन् ।
कूटनीतिज्ञ लम्सालले भने गत वर्षको मंसिर २९ गतेदेखि परराष्ट्र सचिवको भूमिका निभाउँदै आएकी छन् । जागिरे जीवनको २५ वर्षपछि सचिव बनेकी लम्सालले त्यसअघि २०७७ असोजदेखि परराष्ट्र मन्त्रालयकै प्रवक्ताका रूपमा सेवा गरेकी थिइन् ।
ग्रामीण क्षेत्रबाट उठेर उनी इतिहास रच्दै नेपालको पहिलो महिला परराष्ट्र सचिव बन्न सफल भएकी हुन् । भोजपुरको दिंग्लामा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट सामाजिक परिवर्तनमा एम.फिल. गरेकी छन् । २०५५ सालतिर निजामती सेवामा प्रवेश गरेकी लम्साल तीन छोरीहरूकी आमा र एक नातिकी हजुरआमा पनि हुन् ।
शैक्षिक योग्यता र कार्यगत अनुभवका आधारमा पनि अब्बल देखिएका दुई महिला नेतृत्वले नेपालको असंलग्न परराष्ट्र नीति, छिमेक सम्बन्ध र अन्य मुलुकसँगको सम्बन्धलाई कसरी बढाउलान्, त्यसमा सबैको नजर रहने छ ।