१ भदौ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा संविधान र कानुन निर्माणमा नेपाल सबैभन्दा अगाडि रहेको दाबी गरेका छन् ।
शनिबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
नेपालले न्याय क्षेत्रमा उल्लेख उपलब्धि हासिल गर्दै आएको जनाउँदै ओलीले दक्षिण एसियामा कानुन र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको दाबी गरे ।
यसैगरी, उनले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउन जोड दिए ।‘संविधान र कानुनलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ । अन्यथा समाजमा डिजअर्डर कायम हुन्छ । कानुनको कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि हाम्रो पहल हुनेछ,’ उनले भने ।