३ भदौ, विराटनगर ।
पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा र भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट भएको छ । सोमबार भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता भएको हो ।
आरजुसँगको भेटपछि भारतीय विदेश मन्त्री एस जयशंकरले ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहयोगका बारेमा आफूहरूबीच छलफल भएको बताए ।
उनले सामाजिक सञ्जालमा एक्समा लेखेका छन्, ‘नेपालको पहिलो औपचारिक विदेश भ्रमणमा रहनुभएकी राणालाई स्वागत छ । हामीबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भयो । नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुशी लागेको छ, यो एउटा नयाँ कोशेढुंगा हो । हाम्रो छिमेकी पहिलो नीति र अद्वितीय व्यक्ति-जनता र सांस्कृतिक जडानले हाम्रो सम्बन्धलाई अगाडि बढाउँछ ।
यता, परराष्ट्रमन्त्री राणाले आफ्नो भेट फलदायी भएको बताएकी छन् । राणाले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबीच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’परराष्ट्रमन्त्री राणा पाँच दिने भ्रमणका लागि आइतबार भारत पुगेकी थिइन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको यो पहिलो भ्रमण हो । आजै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।