५ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्ने हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि सुरु भएको माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिको संयुक्त बैठकमा बोल्दै प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् ।
बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘स्थायी कमिटीकै बैठकले पार्टी फुटको विषय खारेज गरिसक्यो । अब, यसमा हामी कसैले मिडिया ट्रायल नगरौं न ।’
बैठकको सुरुमा प्रचण्डले बैठकमा भएका छलफल र बहसबाहिर मिडियामा नलैजान नेताहरूलाई सचेत गराएका थिए ।माओवादी केन्द्रले केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि तयारीस्वरूप सातै प्रदेशमा परामर्श समितिको बैठक राख्दै छ ।