६ भदौ, विराटनगर ।
भ्रष्टाचारको मुद्दामा राखिएको हदम्यादसम्बन्धी प्रावधानप्रति धेरैले चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न हुने वा नहुने भन्ने विषयमा निरन्तर बहस भइरहेको छ ।
बिहीबार (आज) को प्रतिनिधिसभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले भ्रष्टाचार निवारणसँग सम्बन्धित विधेयकबारे बोले । उनीहरूले विधेयकमा राखिएको पाँचवर्षे हदम्याद अस्वीकार्य हुने जनाए ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रष्टाचार मुद्दामा पाँ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् ।
उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ । म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्न हुने छैन । नो इफ नो बट हाम्रो कुरा क्लियर कट ।’शून्य समयमा बोल्नेक्रममा पूर्वगृहमन्त्री लामिछानेले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भनी फोनहरू आइरहेको र सामाजिक सञ्जालमा अभियान चलेको सुनाए । हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताए ।
‘जे होस्, हिजो साँझदेखि आजसम्म मेरो फोनमा दुई हजारभन्दा बढी फोन आएका छन्, अधिकांश युवाहरूको,’ उनले भनेका छन् । उनले नीतिगत भ्रष्टाचारको परिभाषा पनि स्पष्ट हुनुपर्ने बताए ।