७ भदौ, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनको राजधानी किएभ पुगेका छन् । मोदी हाल युरोपेली दुई मुलुक पोल्यान्ड र युक्रेनको भ्रमणमा छन् । सोही सिलसिलामा शुक्रबार किएभ पुगेका मोदीले आज नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
रूसले युक्रेनमा आक्रमण सुरु गरेको साढे दुई वर्ष बितिसकेको छ भने युक्रेनले रुसी भूमिमा ठुलो प्रतिआक्रमण गरिरहेको छ । यसबीचमा युक्रेन पुगेका मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहेका छन् ।
मोदीले आफ्नो भ्रमणअघि भनेका थिए, ‘युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन । जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनर्स्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।’
उनी युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताए ।