७ भदौ, विराटनगर ।
नेपालमा लगाइएको प्रतिबन्ध खुल्ने पक्कापक्की भएपछि सामाजिक सञ्जाल ‘टिकटक’ उत्साहित बनेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही शर्त राखेर टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको स्वागत गर्दै टिकटकले आफूहरू उत्साहित भएको जनाएको हो । टिकटकका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं । नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं ।’
टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘हामी नेपालीहरूको उन्मुक्त आवाज बन्न र सृजनशीलताको साझा मञ्चलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं। किनकी हामीले नेपालको सफलताको कथालाई सधैंभरि समर्थन गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
करिब एक वर्षदेखि बन्द रहेको टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला भएको हो ।
निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने छ ।
टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।