८ भदौ, विराटनगर ।
शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ ।
अरू दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको हो ।
दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिबार दिउँसो चितवन आएको थियो । उक्त विमान भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यकाे नासिकतर्फ उडेकाे छ ।
प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रकाे जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गाेरखपुरका हुन् ।भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि साेही विमानमार्फत फर्केका छन् ।