९ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा दक्षिण कोरियाली खेलाडीसँग सेल्फी खिच्ने उत्तर कोरियाका खेलाडी कारबाहीमा परेका छन् । दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको हो ।
अन्तर्राष्ट्रिय मिडिया टेलिग्राफका अनुसार उत्तर कोरियाको खेलकुद मन्त्रालयले विभिन्न तीन चरणमा नैतिकताको जाँच गरेको थियो । टेबल टेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।
उनीहरूले चीनका गोल्ड मेडलिस्ट वाङ चुक्विन र सन यिङ्सा अनि दक्षिण कोरियाका कास्यपदक विजेता लिम जुङहुन शिन युबिनसँग टेनिस पोडियममा सेल्फी खिचाएका थिए ।
उत्तर कोरियाको तर्फबाट उनीहरूलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तर्क्रिया नगर्न निर्देशन दिइएको थियो ।
दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।
दक्षिण कोरियाली समाचारपत्र जुङएङ एल्बोको रिपोर्टअनुसार गैर-कम्युनिस्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा हो । खासगरी यी दुई राष्ट्रहरूबीच परराष्ट्र सम्बन्ध सुमधुर छैन । विगतमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूले दुई राष्ट्रबीचको कूटनीतिको अवस्था झल्काउने गरेको छ ।
सन् २०१८ मा यी दुई देशहरूबीच सुमधुर सम्बन्ध हुँदाताका प्योङचाङ ओलम्पिकको उद्घाटन समारोहमा दुवै देशहरू सँगै मार्च गर्दै र महिला आइस हक्की प्रतियोगितामा एकताबद्ध टोलीलाई फिल्डिङ गरेको देखाइएको थियो ।
तर, उत्तर कोरियाको लामो समयसम्म क्षेप्यास्त्र परीक्षण र सोलप्रतिको शत्रुतापछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ । कुटनीतिक सम्बन्धकै कारण उत्तर कोरियाको खेलकुद मन्त्रालयले उनीहरूलाई कारबाही गर्न चाहेको आँकलन गर्न सकिन्छ ।
तर, कतिपय रिपोर्टहरूका अनुसार पेरिस ओलम्पिकको प्रायोजकमध्ये दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसुङ पनि थियो । सोही कारण पनि दक्षिण कोरियाली खेलाडीहरूकै आग्रहमा उत्तर कोरियाका खेलाडीहरू आफ्नो देशको नीतिविपरीत गएर फोटो खिचेको हुन सक्ने बताइएको छ ।