११ भदौ, विराटनगर ।
कोलम्बियन स्टार फुटबलर जेम्स रोड्रिग्वेज फेरि एक पटक स्पेनको राजधानी मड्रिड फर्किएका छन् । रियल मड्रिडका पूर्वखेलाडी रोड्रिग्वेजलाई ला लिगा क्लब रायो भालेकानोले अनुबन्ध गरेको हो ।
राजधानी मड्रिडको क्बल भालेकानोले ३३ वर्षीय राेड्रिग्वेजलाई अनुबन्ध गरिएको आधिकारिक रूपमा जानकारी दिएको छ । उनी अगस्ट महिनाको सुरुदेखि नै क्लबविहीन थिए । पछिल्लो समय उनले ब्राजिलियन क्लब साओ पाउलोबाट व्यवसायिक फुटबल खेलिरहेका थिए । तर, उक्त क्लब छोडेसँगै राेड्रिग्वेज युरोपियन लिग फर्किने मनसायमा थिए ।
युरोप फर्किने मानसिकता बनाएका उनले साओ पाउलोसँगको सम्झौता रद्द गरे गरेका थिए । यसअघि उनी ला लिगा क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब लाजियोसँग नजिक भएका थिए । तर, रोड्रिग्जेलाई दुवै क्लबले ‘धेरै बूढो भए’ भनेर भित्र्याउन मानेनन् ।
अहिले भालेकानोले रोड्रिग्वेजसँग एक वर्षका लागि सम्झौता गरेको छ, जहाँ थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान पनि उल्लेख गरिएको छ । अब, यसै साता अट्याकिङ मिडफिल्डर रोड्रिग्वेजले मेडिकल गर्ने बताइएको छ ।यसअघि दुई पटक रियल मड्रिडबाट खेलिसकेका रोड्रिग्वेजले गत महिना सम्पन्न कोपा अमेरिकामा कोलम्बियाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले एक गोल गर्दा ६ वटा गोलमा पास मिलाउँदै कोलम्बियालाई फाइनलसम्म पुर्याएका थिए ।
तथापि, फाइनल खेलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा पराजित हुँदा उनी कोपा अमेरिकाको ट्रफी उचाल्नबाट चुके । तर, रोड्रिग्वेजको प्रदर्शनलाई मूल्यांकन गर्दै आयोजकले उनलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषणा गर्यो ।
सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि रियलले उनलाई भित्र्याएको थियो । रोड्रिग्वेजले रियलबाट दुई वटा ला लिगा र दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
भालेकानोले मंगलबार ला लिगाअन्तर्गत बार्सिलोनाको सामना गर्दै छ ।