११ भदौ, विराटनगर ।
अर्जेन्टिनाका फरवार्ड पाउलो डेबाला फिफा विश्वकप छनोट खेल्न राष्ट्रिय टोलीमा परेका छन् । अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले हालै ३० वर्षीय डेबालालाई टिममा बोलाएका हुन् ।
हाल एएस रोमाबाट व्यवसायिक फुटबल खेलिरहेका डेबाला अर्जेन्टिनी टोलीको दोस्रो वरीयताका स्ट्राइकर हुन् । लियोनल मेसी नहुँदा डेबालाले नै स्ट्राइकरको भूमिका निर्वाह गर्छन् ।
कप्तानसमेत रहेका मेसी ‘फिट’ नरहेका कारण पनि डेबालालाई टोलीमा बोलाइएको अनुमान गरिएको छ । मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पक्का छ । चोटका कारण उनले चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका हुन् ।
इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका ३७ वर्षीय मेस्सी चोटका कारण लामो समययता मैदानबाहिर छन् ।उनी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।
कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेसी कोपा अमेरिका सकिएपछि उनी आफूआबद्ध क्लब इन्टर मियामीमा रहेर रिकभरीको प्रयास गरिरहेका छन् ।
अब, उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल गुमाउने छन् । विश्वकप छनोटअन्तर्गत साविक विजेता अर्जेन्टिनाले घरेलु मैदानमा चिलीसँग खेल्ने छ । त्यसको पाँच दिनपछि उसले कोलम्बियासँग उसको मैदानमा प्रतिस्पर्धा गर्ने छ ।
त्यही कारण अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा उनलाई २८ सदस्यीय समावेश गरिएको थिएन । प्रारम्भिक चरणको टोलीमा सन्न्यासको घोषणा गरेका एन्जेल डी मारिया, रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी र डेबाला परेका थिएनन् ।
तर, प्रशिक्षक स्कालोनीले सोमबार डेबालालाई टोलीमा बोलाएका हुन् ।