१५ भदौ, एजेन्सी ।
अमेरिकाको भर्जिनियाबाट हराएकी नेपाली नर्स ममता भट्ट काफ्लेको हत्या भएको आशंका प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । २८ वर्षीया ममताको हत्या उनकै पति नरेशदत्त भट्टले गरेको आरोपमा अमेरिकन प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काभ्रेको पनौती घर भएकी ममता १ अगस्टदेखि बेपत्ता बनेकी थिइन् । २८ जुलाईमा आफूसँग बसेर डिनर खाएयता सम्पर्कमा नभएको बताउने नरेशले नाटकीय रूपमा ५ अगस्टसम्म प्रहरी निवेदन दिएका थिएनन् ।
बेपत्ता ममताको खोजीमा जुटेको प्रहरीले उनको हत्या भएको आशंकामा ३७ वर्षीय नरेशलाई पक्राउ गरेर अभियोजन गरिसकेको छ । श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश अहिले प्रहरी हिरासतमा छन् । जमानतमा छुट्न नपाउने गरी अक्टोबर २४ सम्म उनलाई त्यहाँको अदालतले जेल चलान गरेको छ ।
प्रहरीले हालसम्म ममताको शव फेला पार्न सकेको छैन । नरेशले ममताको शव कहाँ गाडेका छन् भन्ने कुरा निर्क्यौल गर्न प्रहरी कम्मर कसेर लागिपरेको छ । उनको शव सिग्नल हिल पार्कमा गाडिएको संकेत मिलेपछि शुक्रबार राति अबेरसम्म प्रहरीले खोजतलास गरेको थियो ।
मनासास पार्क प्रहरी र प्रिन्स विलियम काउन्टीको खोज तथा उद्धार टोलीले पार्क नै बन्द गरेर खोजी गरेको थियो । भट्टले ममताको शवलाई उक्त पार्कमा पुर्याएर कतै गाडेको हुन सक्ने आशंका गरिएको छ । तर, अहिलेसम्म ममताको शव भेटिएको खबर आएको छैन ।
पछिल्लोपटक भने प्रहरीले ममताको हत्या भएको पुष्टि गर्ने तस्बिर भन्दै केही फोटोहरू सार्वजनिक गरेको छ । प्रहरीले घरमै रगतको आहाल फेला पारेको जनाएको । सार्वजनिक भएको नयाँ तस्विर वाथरुमको हो । जहाँ रगत जमेको देखिएको छ ।
बेड रुमको भुँइ फ्लोरमा कार्पेटमा रगतका केही छिटाहरू र बाथरुमको भित्र समेत रगतका छिटाहरू फेला परेको अमेरिकी प्रहरीले जनाएको छ ।
पछिल्लो पत्रकार सम्मेलनमा मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले अनुसन्धानलाई सघाउने खालका केही तस्बिरहरू फेला परेको जनाउँदै चाँडै नै घटनाको निष्कर्ष निकाल्ने बताए । ‘हामीले थप प्रमाण फेला पारेका छौं ।
तर, अहिले नै यसबारे भन्न सकिने अवस्था छैन । हामीले यस केसमा प्रगति गरिरहेका छौं,’ फक्स–५ सँगको कुराकानीमा उनले भनेका छन् ।
ममता र नरेशकी नीमा नाम गरेकी एक वर्षीया छोरी पनि छिन् । उनलाई लिन ममताकी आमा अमेरिका पुगेकी छन् । ममता बेपत्ता प्रकरणबारे प्रिन्सि विलियम काउन्टीको ‘ग्रान्ड ज्युरी’ मार्फत् अक्टोबर ८ को अमेरिकी समयअनुसार बिहान १० बजे सुनुवाइ हुने छ ।